वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व एकादशी - ११
वीरेन्द्रनगर, सुर्खेत, २०८२ साउन २० गते।
कर्णाली प्रदेश योजना आयोगको आयोजनामा "कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१" र "कर्णाली प्रदेश आयोजना बैङ्क (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१" को संशोधन प्रारम्भिक मसौदामाथि कर्णाली प्रदेशसभाका माननीय सदस्यज्यूहरूसँग विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष यामलाल कडेलज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा माननीय सभामुख नन्दा गुरुङ्गज्यू, पूर्व मुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता माननीय जीवनबहादुर शाहीज्यू, विषयगत मन्त्रीज्यूहरू, राज्यमन्त्रीज्यू, कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्षज्यू, सत्तापक्ष र प्रतिपक्ष दलका माननीय सचेतकज्यूहरू, प्रदेशसभाका विभिन्न समितिका माननीय सभापतिज्यूहरू, प्रदेशसभा माननीय सदस्यज्यूहरू तथा कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्यज्यूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल नगरपालिका संघ, कर्णाली प्रदेश तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कर्णाली प्रदेशका अध्यक्षज्यूहरू, कर्णाली प्रदेश योजना आयोगका सदस्य सचिव एवम् आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिवज्यू, विषयगत मन्त्रालयका सचिवज्यूहरु, कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुखज्यू तथा अन्य अधिकारी तथा कर्मचारीज्यूहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन माननीय मुख्यमन्त्रीज्यूले गर्नुभएको थियो भने स्वागत मन्तव्य कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य डम्बर बहादुर रावलज्यूले गर्नुभएको थियो।कार्यक्रमको मुख्य अंशमा संशोधित कार्यविधि र मापदण्डको प्रारम्भिक मसौदाको प्रस्तुतीकरण कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष सुर्यनाथ योगीज्यूले गर्नुभएको थियो, प्रस्तुतीकरण पश्चात खुला छलफल सम्पन्न भएको थियो।
छलफलको क्रममा सहभागी माननीय सदस्यज्यूहरूबाट विभिन्न सुझाव, राय तथा सुधारका सिफारिसहरू प्राप्त भएका थिए। साथै, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, कर्णाली प्रदेशका अध्यक्षज्यू, नेपाल नगरपालिका संघ, कर्णाली प्रदेशका अध्यक्षज्यू, पूर्व मुख्यमन्त्री एवम् नेपाली काँग्रेस संसदीय दलका नेता माननीय जीवनबहादुर शाहीज्यू, माननीय सभामुख नन्दा गुरुङ्गज्यूले आ–आफ्ना विचार, दृष्टिकोण तथा सुझाव प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको समापन माननीय मुख्यमन्त्री एवम् आयोग अध्यक्ष यामलाल कडेलज्यूले सम्बोधन गर्दै गर्नुभएको थियो। उहाँले कार्यक्रमको उद्देश्य, आगामी सुधार प्रक्रिया, र सबै सरोकारवालाको सक्रिय सहभागिताप्रति आभार प्रकट गर्नुभयो।
समग्रमा कार्यक्रमले आयोजना छनोट प्रक्रिया तथा आयोजना बैङ्क व्यवस्थापनमा सुधार र प्रभावकारिता अभिवृद्धि गर्ने दिशामा सकारात्मक संकेत दिएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको सहजीकरण कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य अशोकनाथ योगीज्यूले गर्नुभएको थियो।