महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लाथ्व त्रयोदशी - १३

आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधिको कार्यान्वयन सम्बन्धी छलफल सम्पन्न

आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधिको कार्यान्वयन सम्बन्धी छलफल सम्पन्न

आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधिको कार्यान्वयन सम्बन्धी छलफल सम्पन्न

फागुन १९, सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगमा मिति २०८१ फागुन १९ गते आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१ को प्रभावकारी कार्यान्वयन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम आयोगका माननीय उपाध्यक्ष सूर्यनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कर्णाली प्रदेशका माननीय सदस्य अशोकनाथ योगी र डम्बर बहादुर रावल, विषयगत मन्त्रालयका प्रदेश सचिवहरू, कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख लगायत आयोगका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य कर्णाली प्रदेशमा आयोजना छनोट प्रक्रियालाई पारदर्शी, प्रभावकारी र नीति-निर्माण अनुरूप बनाउनु रहेको थियो। छलफलको क्रममा कर्णाली प्रदेशमा विकास निर्माणका आयोजनाहरूको छनोट, प्राथमिकता निर्धारण र कार्यान्वयनमा आउने चुनौतीहरूको समीक्षा गरिएको थियो। कार्यक्रमको आरम्भ आयोगका प्रशासकीय प्रमुख श्री महेन्द्रजङ्ग शाहीको प्रस्तुतीकरणबाट भएको थियो। उहाँले कार्यविधिमा भएका व्यवस्था, प्रकिया लगायत कर्णाली प्रदेशको वर्तमान आयोजनागत स्थिति, कार्यान्वयनका प्रमुख बाधाहरू तथा समाधानका उपायहरूबारे विस्तृत रूपमा जानकारी गराउनु भएको थिए। उहाँको अनुसार, नयाँ कार्यविधिले आयोजनाको छनोट प्रक्रियालाई थप व्यवस्थित र परिणाममुखी बनाउने कुरामा जोड दिनुभयो साथै आयोजनाहरू छनोट गर्दा भौगोलिक, आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई प्राथमिकता दिने नीतिहरूको समेत समावेश गरिएको कुराको जानकारी गराउनुभयो ।

प्रस्तुतीकरणपछि उपस्थित प्रदेश सचिवहरूले कार्यविधिको सकारात्मक पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूका अनुसार, प्रस्तावित कार्यविधिले आयोजना छनोट प्रक्रिया थप वैज्ञानिक, पारदर्शी र निष्पक्ष बनाउनेछ। प्रदेशको समग्र विकासलाई ध्यानमा राख्दै कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कर्णाली प्रदेशको भौगोलिक विकटता, बजेट सीमितता, प्राविधिक दक्षता र व्यवस्थापनका विषयलाई ध्यानमा राख्दै कार्यविधिलाई अझ प्रभावकारी रूपमा लागु गर्नुपर्ने सुझाव दिनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव एवम् कर्णाली प्रदेश योजना आयोगको सदस्य सचिव श्री रविलाल शर्माले छलफलको क्रममा आएका सुझाव एवम् जिज्ञासाहरुको सम्बोधन गर्दै कार्यविधिको सहज सञ्चालन सँगै बजेट निर्माण प्रकृया समेतलाई सहज बनाउने उद्देश्यले आगामी दिनमा सूचना प्रविधिको उच्चतम प्रयोग गरी हाल प्रयोगमा रहेका विभिन्न प्रणालीहरु बीच अन्तर आवद्धता गरी प्रयोगमा सहजता ल्याउनको लागि आवश्यक प्रकृया अगाडी बनाउने कुरामा जोड दिनुभयो ।

माननीय सदस्यहरू अशोकनाथ योगी र डम्बर बहादुर रावलले कार्यविधिलाई समयसापेक्ष, उद्देश्यपूर्ण र प्रभावकारी रहेको बताउनुभयो। उहाँहरूले कर्णाली प्रदेशको दिगो विकासका लागि कार्यविधिको सफल कार्यान्वयन अनिवार्य रहेको बताउनुभयो । यो कार्यविधिले विकासका आयोजनाहरू छनोट गर्ने प्रक्रियालाई पारदर्शी मात्र बनाउने छैन, यसको प्रभावकारी कार्यान्वयनले प्रदेशको आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने कुरामा जोड दिनुभयो ।

अन्त्यमा कार्यक्रमको समापन गर्दै आयोगका माननीय उपाध्यक्ष सूर्यनाथ योगीले छलफलका निष्कर्षलाई कार्यान्वयन तहसम्म लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले आयोजनाहरूको छनोट, कार्यान्वयन र प्रभाव मूल्यांकनलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण कर्णाली प्रदेश योजना आयोगका तथ्याङ्क अधिकृत हरि बहादुर घर्तीले गर्नुभएको थियो ।