NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व एकादशी - ११

वीरेन्द्रनगरमा N4G Summit 2021 को समीक्षा तथा N4G Summit 2025 को लागि प्रतिवद्धता तयारी कार्यशाला गोष्ठी सम्पन्न

वीरेन्द्रनगरमा N4G Summit 2021 को समीक्षा तथा N4G Summit 2025 को लागि प्रतिवद्धता तयारी कार्यशाला गोष्ठी सम्पन्न

वीरेन्द्रनगरमा N4G Summit 2021 को समीक्षा तथा N4G Summit 2025 को लागि प्रतिवद्धता तयारी कार्यशाला गोष्ठी सम्पन्न

वीरेन्द्रनगर, सुर्खेत, २०८१ माघ १५राष्ट्रिय योजना आयोगको आयोजना तथा कर्णाली प्रदेश योजना आयोगको सह-आयोजनामा N4G Summit 2021 को समीक्षा तथा N4G Summit 2025 को लागि प्रतिवद्धता तयारी कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त गोष्ठीको अध्यक्षता कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष एवम् प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष सुर्यनाथ योगीज्यूले गर्नुभएको थियो। गोष्ठीमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा. डा. आर.पी. विच्छाज्यू प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। उक्त कार्यशालामा प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका सदस्यहरू तथा कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्यद्वय अशोकनाथ योगीज्यू र डम्बर बहादुर रावलज्यूको उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा नगरपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष श्री हस्त पुन, गाउँपालिका संघ कर्णाली प्रदेशका अध्यक्ष श्री निम बहादुर के.सी., समितिका सदस्य रहेका मन्त्रालयका सचिवहरू, पोषणसम्बन्धी कार्य गर्ने महाशाखाका प्रमुख वा प्रतिनिधिहरू, गैरसरकारी संघ कर्णाली प्रदेशका अध्यक्ष, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका प्रतिनिधि लगायतका अन्य महत्वपूर्ण सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यशालाको मुख्य उद्देश्य N4G Summit 2021 मा भएका प्रतिबद्धताहरूको समीक्षा गर्दै आगामी N4G Summit 2025 को लागि आवश्यक प्रतिबद्धताहरू तयार गर्ने थियो। N4G Summit (Nutrition for Growth Summit) विश्वव्यापी पोषण सुधार, खाद्य सुरक्षा, तथा सतत विकास लक्ष्य (SDGs) को लक्ष्य प्राप्त गर्ने दिशामा केन्द्रित महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हो।गोष्ठीमा सहभागी सबै संस्था प्रमुख, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा विज्ञहरूले N4G Summit 2025 को लागि आवश्यक रणनीति, नीतिगत सुधारहरू तथा सम्भावित प्रतिबद्धताहरूका बारेमा सुझावहरू प्रस्तुत गर्नुभएको थियो। कार्यशालाका विभिन्न चरणहरूमा पोषण सुरक्षाका निम्ति नीतिगत योजना, कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरू, स्थानीय तथा प्रदेश सरकारका भूमिकाहरू, वित्तीय स्रोत परिचालन, तथा दीर्घकालीन समाधानहरू बारे व्यापक छलफल गरिएको थियो।

उक्त कार्यशालाको सहजीकरण कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुख श्री महेन्द्रजंग शाहीज्यूले गर्नुभएको थियो।उहाँले गोष्ठीको उद्देश्य स्पष्ट पार्दै, छलफलका प्रमुख बुँदाहरूलाई समेट्दै, आगामी प्रतिबद्धताहरूलाई अझ सुदृढ बनाउने उपायहरू प्रस्तुत गर्नुभएको थियो।

उक्त कार्यशालामा सहभागी सबै सरोकारवालाहरूले N4G Summit 2025 मा नेपालको योगदान सुनिश्चित गर्न र कर्णाली प्रदेशको पोषण तथा खाद्य सुरक्षासम्बन्धी नीतिगत तथा कार्यक्रमगत पक्षहरूलाई थप प्रभावकारी बनाउन आवश्यक रणनीतिक प्रतिबद्धताहरूको खाका तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। गोष्ठीमा उठाइएका सिफारिस तथा सुझावहरूलाई राष्ट्रिय योजना आयोगले संकलन गरी N4G Summit 2025 को आधिकारिक प्रतिबद्धता प्रस्तावमा समावेश गर्ने तयारी गर्नेछ।यस कार्यशालाले कर्णाली प्रदेशमा पोषण सुधार तथा खाद्य सुरक्षाका लागि दीर्घकालीन योजनाहरूलाई थप स्पष्ट मार्गचित्र प्रदान गरेको छ र आगामी दिनमा स्थानीय, प्रदेश तथा संघीय सरकारले मिलेर कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।