वि.सं:
नेपाल संवत: ११४५ सिल्लाथ्व एकादशी - ११
६ माघ, २०८१
सुर्खेत, २०८१ पुष १७ र १८: कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकार तथा अन्तर्गतका निकायहरूले सञ्चालन गर्ने बार्षिक आयोजनाको पहिचान, लेखाजोखा, छनोट र प्राथमिकीकरण गरी बजेट प्रणालीलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन आयोजना बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएको छ ।
सार्वजनिक कोषको मितव्ययी उपयोग र सरकारी बजेटको प्रभावकारी सदुपयोग गर्दै आयोजना बैंकले आयोजनाहरूको वर्गीकरण, प्राथमिकीकरण तथा मध्यमकालीन खर्च संरचनामा समावेश गरी कार्यान्वयन गर्ने उद्देश्य राखेको छ । यसले मापदण्डविहीन आयोजनाको पहिचान र छनोट साथै आवश्यक पूर्व तयारीबिना कार्यान्वयनमा आउने समस्याहरूलाई समाधान गर्नेछ।
योजनाको स्रोत विनियोजनमा प्रभावकारिता र कार्यान्वयन दक्षता अभिवृद्धिका लागि आयोजना बैंकले सहयोग गर्ने अपेक्षा गरिएको छ । यस सन्दर्भमा आयोजना बैंकको महत्त्व र कार्यप्रणाली र यसको प्रयोगबारे कर्णाली प्रदेश योजना आयोगका कर्मचारीहरू र प्रदेशका विषयगत मन्त्रालयका सचिवज्यूहरु र योजना महाशाखाका कर्मचारीहरुलाई समेत जानकारी गराउन कर्णाली प्रदेश आयोजना बैंक सूचना व्यवस्था प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८१ पुष १७ र १८ गते कर्णाली प्रदेश योजना आयोगको सभाहलमा सञ्चालन गरिएको छ।
कार्यक्रमले आयोजना बैंकमार्फत कार्यान्वयन योग्य आयोजनाहरूको पहिचान र छनोटलाई सुदृढ गर्दै कर्णाली प्रदेशको बजेट प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन योगदान दिने अपेक्षा गरिएको छ।