महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व दशमी - १०

कर्णाली प्रदेश आयोजना बैंक सम्बन्धी मापदण्ड संशोधन र सूचना प्रणाली परिमार्जन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कर्णाली प्रदेश आयोजना बैंक सम्बन्धी मापदण्ड संशोधन र सूचना प्रणाली परिमार्जन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरेन्द्रनगर, २०८२ साउन १६

कर्णाली प्रदेश योजना आयोगको आयोजनामा कर्णाली प्रदेश आयोजना बैङ्क (कार्यसञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१को संशोधन र कर्णाली प्रदेश आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली (KPPBMIS)” को परिमार्जन सम्बन्धमा अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष श्री सूर्यनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा आयोगका माननीय सदस्यहरू श्री अशोकनाथ योगी र श्री डम्बर बहादुर रावल, प्रशासकीय प्रमुख श्री गोपाल के.सी., सूचना प्रणाली विज्ञ डा. गणेश गौतम, विषयगत मन्त्रालयका योजना महाशाखा प्रमुखहरू, आयोजना बैंक सम्बन्धित फोकल पर्सनहरू तथा कर्णाली प्रदेश योजना आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूबाट आयोजना बैंक कार्यसञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०८१को संशोधनमा आवश्यक सुझावहरू प्रदान गरिएको थियो। साथै, KPPBMIS प्रणालीलाई आगामी दिनमा अझ प्रभावकारी, प्रयोगकर्तामैत्री र समावेशी बनाउन के गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको थियो।

प्रस्तावित परिमार्जन र प्रणाली सुदृढीकरणबारे सूचना प्रणाली विज्ञ डा. गणेश गौतमले आफ्नो धारणा प्रस्तुत गर्नुका साथै विस्तृत प्रस्तुतीकरण समेत गर्नुभएको थियो। उहाँले प्रविधिको विकास र प्रशासनिक आवश्यकता अनुसार प्रणालीमा आवश्यक हुने संरचनात्मक सुधार, कार्यविधि तथा प्रयोगकर्ताका चुनौतीहरूको समायोजन गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा आयोगका माननीय सदस्य श्री अशोकनाथ योगी र श्री डम्बर बहादुर रावलले आफ्ना धारणा राख्दै प्रणालीको प्राविधिक र नीतिगत सुधारले योजनाको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्षीय मन्तव्य दिंदै उपाध्यक्ष श्री सूर्यनाथ योगीले योजना प्रणालीको सुदृढीकरण प्रदेशको समुचित विकासका लागि अत्यन्त आवश्यक रहेको बताउँदै सबैको सहकार्यमा प्रणालीलाई अझ परिस्कृत बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमको सहजीकरण योजना आयोगका तथ्यांक अधिकृत श्री हरिबहादुर घर्तीले गर्नुभएको थियो। समग्रमा, अन्तरक्रिया कार्यक्रम अत्यन्त उपयोगी र सकारात्मक रहेको सहभागीहरूको निष्कर्ष रहेको थियो।