वि.सं:
नेपाल संवत: ११४५ ञलाथ्व दशमी - १०
सुर्खेत, २०८२ साउन १५
कर्णाली प्रदेश योजना आयोगको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को कार्यान्वयन कार्ययोजना सम्बन्धी कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ।
कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष श्री सूर्यनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा आयोगका माननीय सदस्यहरू श्री अशोकनाथ योगी र श्री डम्बर बहादुर रावल, प्रशासकीय प्रमुख श्री गोपाल के.सी., विषयगत मन्त्रालयका योजना महाशाखा प्रमुख तथा प्रतिनिधिहरू, प्रदेश तथा स्थानीय शासन सशक्तिकरण कार्यक्रम (PLGSP), इन्टरनेशनल आईडीया, युनिसेफ नेपालका प्रमुख तथा प्रतिनिधिहरू र आयोगका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा आयोगका शाखा अधिकृत श्री शुकलाल घर्तीले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारिएको कार्यान्वयन कार्ययोजना सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो।
प्रस्तुतीकरण पश्चात सहभागीहरूले योजना आयोगको कार्यप्रति सकारात्मक प्रतिक्रिया दिँदै प्रशंसा समेत गर्नुभएको थियो। साथै, आगामी वर्षमा कार्यान्वयन गरिने कार्यक्रमहरू प्रदेशका अन्य निकायहरूसँग समन्वय गर्दै अझ प्रभावकारी बनाउने सुझाव र प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
अन्त्यमा आयोगका माननीय सदस्यहरू श्री अशोकनाथ योगी र श्री डम्बर बहादुर रावलले आयोगको प्रयासको सराहना गर्दै योजना कार्यान्वयनमा थप नीतिगत स्पष्टता र संस्थागत समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमको समापन गर्दै आयोगका उपाध्यक्ष श्री सूर्यनाथ योगीले आयोगको कार्यदिशा, आगामी योजनाहरूको सफल कार्यान्वयन र समन्वयको आवश्यकता औंल्याउँदै सहभागी सबैलाई धन्यवाद दिनुभयो।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण कर्णाली प्रदेश योजना आयोगका तथ्याङ्क अधिकृत श्री हरि बहादुर घर्तीले गर्नुभएको थियो।