वि.सं:
नेपाल संवत: ११४५ चिल्लाथ्व त्रयोदशी - १३
सुर्खेत, २४ माघ – कर्णाली प्रदेश योजना आयोगको आयोजनामा कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन केन्द्रको सभाहल, सुर्खेतमा "कर्णाली प्रदेशस्तरीय आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१" र "कर्णाली प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८१" विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री तथा कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष श्री यामलाल कडेलज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवम् विपक्षी दलका नेता माननीय राज कुमार शर्माज्यू, पूर्व मुख्यमन्त्री एवम् संसदीय दलका नेता माननीय जीवन बहादुर शाहीज्यू, विषयगत मन्त्रालयका मन्त्रीज्यूहरु, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय सूर्यनाथ योगीज्यू, उपसभामुखज्यू, कर्णाली प्रदेशसभा समितिका सभापतिज्यूहरु, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकज्यूहरु, कर्णाली प्रदेशसभाका सदस्यज्यूहरु, कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्यज्यूहरु, प्रमुख सचिवज्यू, मन्त्रालयका सचिवज्यूहरु, कर्णाली प्रदेश योजनाका प्रशासकीय प्रमुखज्यू तथा विभिन्न मन्त्रालय र आयोगका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा माननीय उपाध्यक्ष सूर्यनाथ योगीज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने माननीय मुख्यमन्त्रीज्यूले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा पहिलो प्रस्तुती "आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१" बारे कर्णाली प्रदेश योजना आयोगका सदस्य सचिव एवम् आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव श्री रविलाल शर्माज्यूले प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, दोस्रो प्रस्तुती "कर्णाली प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि, २०८१" विषयमा कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय अशोकनाथ योगीज्यूले प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुती पश्चात उपस्थित सहभागीहरुले कार्यविधिहरूमा खुला छलफल गर्नुभएको थिए। छलफलबाट आएका विभिन्न जिज्ञासाहरु एवम् राय सुझावहरुलाई माननीय मुख्यमन्त्रीज्यूले सम्वोधन गर्नुभएको थियो। माननीय मुख्यमन्त्रीज्यूको सम्बोधन पश्चात कर्णाली प्रदेश सरकारका प्रमुख सचिव श्री लोकनाथ पौड्यालज्यू, माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री राजीव विक्रम शाहज्यू, पूर्व मुख्यमन्त्री तथा संसदीय दलका नेता माननीय जीवन बहादुर शाहीज्यू, पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता माननीय राज कुमार शर्माज्यूले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै माननीय मुख्यमन्त्री तथा कर्णाली प्रदेश योजना आयोगका अध्यक्ष श्री यामलाल कडेलज्यूले प्रदेश विकासका लागि आयोजना बैंकको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। उहाँले योजनाको छनौट प्रक्रिया पारदर्शी, तथ्यगत र समावेशी बनाउन आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेश विकासका लागि नीति तथा योजना निर्माणमा अझ प्रभावकारी कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय डम्बर बहादुर रावलज्यू र आयोगका प्रशासकीय प्रमुख श्री महेन्द्रजंङ्ग शाहीज्यूको सहजीकरणमा सम्पन्न भएको थियो।