दिगो विकास लक्ष्य कार्यान्वयनलाई तीव्रता दिनको लागि प्रदेशको दृष्टिकोण सम्बन्धमा बहुपक्षीय कार्यशाला गोष्ठी सम्पन्न

Published On: 2023-09-04

मिति २०८०/०५/१७ गते वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश योजना आयोग सुर्खेतको आयोजना एंव विश्व खाद्य कार्यक्रम (WFP) को समन्वयमा दिगो विकास लक्ष्य कार्यान्वयनलाई तीव्रता दिनको लागि प्रदेशको दृष्टिकोण सम्बन्धमा बहुपक्षीय कार्यशाला गोष्ठी सम्पन्न भयो । सन् २०३० भित्र दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यलाई कार्यान्वयन गर्ने सन्दर्भमा हालसम्म नेपालले गरेको प्रगति तथा उपलब्धीलाई संस्थागत गर्दै बाँकी रहेका सूचकहरुमा तोकिएको समयमै लक्ष्य प्राप्तीका लागि दिगो विकास कार्यान्वयनमा तिव्रता दिन प्रदेशको दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ संचालन भएको उक्त कार्यशाला गोष्ठी कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष योगेन्द्र बहादुर शाहीज्यूको प्रमुख अध्यक्षतामा संचालन भएको थियो ।

उक्त कार्यशालामा कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य ऋषि खनाल ज्यू,  माननीय सदस्य जीत बहादुर शाह ज्यू, कर्णाली प्रदेशका विभिन्न मन्त्रलायका सचिवज्यूहरु, कर्णाली प्रदेश योजना आयोगका प्रशासकीय प्रमुखज्यू, प्रदेश स्थित निर्देशनालय, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था तथा संगठनहरुका प्रमुख एवं प्रतिनिधिज्यूहरुको समेत सहभागिता रहेको थियो।सोही कार्यक्रममा सरकारी, गैरसरकारी, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरु, संयुक्त राष्ट्रसंघीय निकाय र विकास साझेदार गरी जम्मा ७७ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य माननीय ऋषि खनाल ज्यूले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।

माननीय उपाध्यक्ष ज्यूबाट Towards a vision of acceleration for SDGs in Nepal विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुतीको क्रममा हालसम्म नेपालले गरेको प्रगति, थप तिव्रताको लागि गर्नुपर्ने कार्य र अहिलेसम्मको रिक्तता लगायतका विषयमा प्रकाश पार्नुका साथै दिगो विकास लक्ष्य र त्यसको सूचकहरुको कार्यान्वयनमा तिव्रता दिई सन् २०३० सम्म दिगो विकासका लक्ष्य पुरा गर्नुपर्ने र त्यसका लागि दिगो विकास लक्ष्यको आन्तरिकरण, स्थानीयकरणका साथै प्रादेशिकरण गरी लगानी समेत बढाउनुपर्ने कुरामा जोड दिनु भएको थियो।माननीय उपाध्यक्षज्यूको प्रस्तुतीकरण पश्चात सहभागीहरुलाई पाँच वटा विभिन्न समूहमा विभाजन गरी समूह कार्य मार्फत दिगो विकास लक्ष्यलाई तिव्रता दिने सन्दर्भमा सुझाव संकलन गरिएको थियो । 

कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जीत बहादुर शाह ज्यूले कार्यक्रममा सकृय सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो।कार्यक्रमको अन्तमा समापन मन्तव्य राख्दै कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष योगेन्द्र बहादुर शाही ज्यूले कार्यशाला गोष्ठी प्रभावकारी रहेको र यस कार्याशाला गोष्ठीबाट प्राप्त सुझाव, सल्लाहलाई समेटी  प्रदेशको दृष्टिकोण सहित प्रतिवेदन तयार गरी केन्द्रमा पठाउनुपर्ने कुरामा समेत जोड दिनु भएको थियो । कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका मान बहादुर कुँवरले संचालन गर्नुभएको थियो ।