कर्णाली प्रदेशको दोश्रो पञ्‍चवर्षीय योजनाको मस्यौदामाथि राय र सुझाव संकलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०२४-०९-१०

वीरेन्द्रनगर, २०८१ सालको भदौ २४ गते – कर्णाली प्रदेशले २०८१/८२ देखि २०८५/८६ सम्मको दोश्रो पञ्‍चवर्षीय योजनाको मस्यौदामाथि राय, सुझाव र प्रतिक्रिया लिने एक महत्वपूर्ण कार्यक्रम २०८१ साल भदौ २४ गते वीरेन्द्रनगर, सुर्खेत जिल्लामा सम्पन्न गरेको छ। यो कार्यक्रम कर्णाली प्रदेश योजना आयोगको आयोजनामा र आइडिया इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य कर्णाली प्रदेशको आगामी पञ्‍चवर्षीय योजनामा प्रदेश मन्त्रालयका सचिवज्यूहरु लगायत योजना महाशाखाका कर्मचारीहरुको राय र सुझावलाई समेटेर योजना अझ प्रभावकारी र लाभकारी बनाउन हो। सो कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष सूर्यनाथ योगीज्यूको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य अशोकनाथ योगीज्यू, माननीय सदस्य डम्बर बहादुर रावलज्यू, कर्णाली प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. सर्वराज खड्काज्यू, पूर्व सदस्य ऋषि खनालज्यू, प्रदेशका मन्त्रालयहरुका सचिवज्यूहरू, योजना महाशाखाका कर्मचारीहरू, आइडिया इन्टरनेशनलका प्रमुख व्यवस्थापक लगायतका कर्मचारीहरु र कर्णाली प्रदेश योजना आयोगका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भ माननीय सदस्य डम्मर बहादुर रावलज्यूको स्वागत मन्तव्यसँगै भएको थियो। उहाँले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै, यस कार्यक्रममा संलग्न व्यक्तिहरूको योगदान महत्वपूर्ण हुने र कर्णाली प्रदेशको योजना निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रममा सहभागीहरूको ध्यान योजना निर्माण प्रक्रियामा योगदान पुर्याउने तरिकामा केन्द्रित राख्न आग्रह गर्नुभयो।उहाँले योजना निर्माणको मुख्य उद्देश्यहरू, योजना प्रक्रियामा सामेल गरिने प्रमुख पक्षहरू र अपेक्षित परिणामहरूको बारेमा जानकारी प्रदान गर्दै, सहभागीहरूसँग योजना सम्बन्धी सबै बुँदाहरूमा गहिरो छलफल गर्न तयार रहन अनुरोध गर्नुभयो।

स्वागत मन्तव्य पश्चात, पूर्व उपाध्यक्ष एंव विज्ञ डा. सर्वराज खड्काज्यूले योजनाको मस्यौदाबारे विस्तृत प्रस्तुतीकरण गर्नु भयो। यस प्रस्तुतिमा योजना निर्माणको प्रक्रिया, मस्यौदाका प्रमुख बुँदाहरू, योजनाका लक्ष्य र अपेक्षित परिणामहरूको विस्तृत व्याख्या गर्नुभएको थियो । मस्यौदा प्रस्तुतीकरणपछि, खुला सत्रको प्रारम्भ गरियो जसमा विभिन्न मन्त्रालयका सचिवज्यूहरू, योजना सम्बन्धी विशेषज्ञहरू र अन्य सहभागीहरूले मस्यौदाबारे आफ्ना राय र सुझावहरू प्रस्तुत गर्नुभयो। मन्त्रालयका सचिवज्यूहरूले विशेष गरी बजेटको प्रबन्ध, प्राथमिकताका क्षेत्रहरूको चयन, र योजनाको कार्यान्वयन प्रक्रियामा सुधार ल्याउनका लागि सुझाव दिनुभयो । उहाँहरुले योजना कार्यान्वयनको स्थानीय स्तरमा प्रभावकारिता सुधार गर्न, योजना बमोजिम कार्यान्वयनका लागि आवश्यक संसाधनहरूको सुनिश्चितता, र स्थानीय स्तरमा योजनाका कार्यक्रमहरूको प्रभावी निगरानी र मूल्यांकन गर्नका लागि सुझाव दिनुभयो । सुझाव र रायहरूको संकलन र विश्लेषण गरेर, मस्यौदामा आवश्यक सुधार गर्नका लागि सुझावहरूलाई समेट्ने प्रक्रिया अगाडि बढाइने र यसले योजना निर्माणमा सबैको सक्रिय सहभागिता र योगदानलाई महत्वपूर्ण ठानिन्छ भन्ने प्रमाणित गर्दछ।

कार्यक्रमको समापनमा, माननीय सदस्य अशोकनाथ योगीज्यूले सबै सहभागीहरुलाई धन्यवाद मन्तव्य प्रदान गर्नुभयो। उहाँले कार्यक्रमको सफलताका लागि सबैको योगदानलाई सराहना गर्दै, यसले कर्णाली प्रदेशको विकास र योजनाबद्ध कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।अन्तमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षज्यूले सबै सहभागीहरुलाई कार्यक्रमको सफलताको लागि प्रतिबद्ध रहने आश्वासन दिनुभयो र यसरी गरिएको योगदानले कर्णाली प्रदेशको आगामी पञ्‍चवर्षीय योजनाको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने कुरा व्यक्त गर्नुभयो।कार्यक्रम कर्णाली प्रदेश योजना आयोगका शाखा अधिकृत मेघनाथ सापकोटाज्यूले संचालन गर्नुभएको थियो ।

 

डाउनलोड